काठमाडौं,साउन ४ । काठमाडौं न्युरोड क्षेत्रमा भएको फुटपाथ विस्तार कामलाई लिएर स्थानीयविरोधमा उत्रिएका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । स्थानिय विरोधमा उत्रिए पछि न्युरोड क्षेत्र अशान्त बनेको छ ।यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।