समाचार

चितवनमा भारी वर्षाका कारण बाढी र डुबानको समस्या

चितवनमा भारी वर्षाका कारण बाढी र डुबानको समस्या

चितवन भदौ १६ ।  निरन्तर वर्षाका कारण चितवनमा बाढी र डुबानको समस्या देखिएको छ ।चितवनका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भरतपुर महानगरपालिका १० मा पर्ने स्याउली बजारमा भलले गर्दा केही घण्टासम्म बाटो बन्द भएको थियो । हाकिम चोकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यालयतर्फ जाने बाटो जलमग्न भएको थियो ।यस्तै बाटो किनारका घर र पसलहरुमा पनि भेलबाढी पसेको थियो । सडकमा आउ–जाउ बन्द भएको थियो । 

प्रहरीका अनुसार कालिका नगरपालिकाको बुई खोला किनारका केही झुप्रा घरहरुमा पनि बाढी पसेको थियो । तर त्यहाँ जोखिम नरहेको र कसैलाई पनि स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको प्रहरीले बताएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा चितवनको कल्याणपुर, नारायणी फिल्ड अफिस, शक्तिखोर र देवघाट लगायत स्थानमा भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।चितवनको आँपटारीमा आज बिहान रुख ढलेर सडक बन्द भएको थियो । प्रहरीले ढलेको रुखलाई टुक्राएर बाटो खुलाएको छ ।

यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तिब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ ।

 

 

Related Tag :

Related Post