समाचार

एसियनले ल्यायो कोदोको बिस्कुट

एसियनले ल्यायो कोदोको बिस्कुट

 विराटनगर भदौ १३ । विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले पहिलो पटक कोदोको पिठोबाट  बनेको बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ। नेपालमा कर्पोरेट लेभलबाट  एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो ।

केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको बताएको छ ।

उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ ।  बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलैंचीको धुलो पनि मिसाइएको छ । साथै फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको छ। कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छन् । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ ।

निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको बताइएको छ । एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको छ । जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् ।

एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको छ ।

 

Related Tag :

Related Post