मोरङ,साउन १६ । लेटाङ नगरपालिकाले काठमाडौंमा रहेका लेटाङका अग्रजहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम काठमाडौंको रोयल प्यालेसमा सम्पन्न भएको हो। लेटाङ नगरपालिकाको आयोजनामा भएको १ दिने अन्तरक्रिया कार्यक्रममा नगरले अहिले सम्म गरेको काम र प्राप्त भएको उपलब्धिको बारेमा जानकारी गराइएको थियो। यस्तै नगरले गरेका कामको बारेमा सुझाव पनि लिइएको थियो।
सुझाव दिने क्रममा नगरले सुकुम्बासी समस्यालाई पनि ध्यान दिनु पर्ने, यातायात, शिक्षा, भाषा, सूचना प्रविधी, पार्किङ लगायतको विषय नगरले समेट्नु पर्ने सुझाव दिइएको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति एवम् मोरङ क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य ऋषि केस पोख्रेलले संघ , प्रदेश र स्थानीय तह बीच समन्वय नहुँदा बर्सेनि बेरुजु बढ्दै गएको बताएका छन्। यसको समाधान गर्ने कुरामा कसैको ध्यान नगएको उनको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै पुर्व खेलकुद मन्त्री एवम् मोरङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डिग बहादुर लिम्बुले लेटाङ नगर भित्र बाल मैत्री र प्रभावकारी शिक्षण आवश्यक रहेकोले यसको लागि आफुले पहल गर्ने बताएका छन्। यस्तै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले नगरमा सम्भावनाको अझै खोजी गरेर सफल नगर बनाउन आफू सधै लागि परेको बताएका छन्।कार्यक्रममा १५० भन्दा बढिको सहभागिता रहेको थियो ।