काठमाडौं,असार २५ । पछिल्लो समय सामाजिक संजालमा लेखेको स्टाटसका कारण काठमाडौं महानगरका मेयर बालेन शाहले आलोचना खेप्दै आएका छन् । कहिले उनी सिंहदरबार जलाइदिन्छु भन्दै सामाजिक संजाल मार्फत धम्की दिन्छन् त कहिले नेपाली काग्रेस र एमालेलाई कटाक्ष गर्दै लेखिएको स्टाटसको कारण समय समयमा विवादित बन्दै आएका छन् । उनले नेतालाई जथाभावी गाली गर्दै सामाजिक संजालमा स्टाटस लेखेको भन्दै मंगलबारको नगरसभा अधिवेशनमा नगरसभा सदस्य शर्मिला परियारले सामाजिक स्र.जालमा नेताहरुलाई जथाभावी गाली गर्दा आफनो पनि हैसियत नबढ्ने भन्दै आक्रोस पोखेकी छिन्।
वडा नम्बर ३ बाट निर्वाचित दलित महिला सदस्य परियारले मेयर शाहले सम्मानित नेताहरुलाई विनाप्रमाण सामाजिक सञ्जालबाट गालीगलौज गर्दा महानगरकै गरिमा कमजोर बनिरहेको बताएकी हुन ।
उनले भनिन्, ‘विनाप्रमाण कसैलाई गालीगलौज गर्नुअघि म कुन हैसियतमा छु भन्ने पनि बुझ्नुपर्छ । प्रमुखज्यू, तपाईंले आफू राम्रो देखिनका लागि अरुलाई नराम्रो देखाउन पर्दैन । नगरसभाको गरिमा अरुलाई गालीगलौज गरेर, सामाजिक सञ्जालबाट आरोप लगाएर बढ्ने पनि होइन । सम्मानित नेताहरुलाई गाली गरेर तपाईंको हैसियत बढ्दैन ।’
मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न समेत गरेकी थिइन् ।