काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएकोले खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् । उनले भनेका छन्, 'संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला’ उनले चेतावनीको भाषामा भनेका छन्, ‘राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?
प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाएका छन् । ।
कांग्रेस र एमालेले केही पश्चिमा देशको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउन खोजेको ‘ओपन सेक्रेट’ जस्तै रहेको भन्दै उनले साना दलहरुले किन समर्थन गरेको बुझ्न नसकेको बताएका छन् । उनले संविधान संशोधन गर्ने भए आफूहरु तयार रहेको भन्दै केही प्रस्ताव समेत अघि सारेका छन् ।
‘संविधान संशोधन गर्ने हो भने आउनुस्, खुला छलफल गरौं,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं, दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔं मेरो प्रस्ताव छ ।’