समाचार

‘झरीपछिको इन्द्रेणी’का लेखक कार्कीको फेरिएको क्षेत्र

‘झरीपछिको इन्द्रेणी’का लेखक कार्कीको फेरिएको क्षेत्र

काठमाडौं,फागुन २५ । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा  नेपाली कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार डा. सुनील शर्मा र श्रम संस्कृति पार्टीका अमिर मगरलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० उम्मेदवार गणेश कार्की विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की ले संसदको यात्रा तय गरेका हुन् । ३६ हजार ९ सय २४ मतसहित कार्की विजयी हुँदा शर्माले २४ हजार ३ सय ५४ मत ल्याए । श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७ सय ५२ र नेकपाका डा.देउमान सम्बाहाङफेले १ हजार २ सय ५९ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सुनील शर्मा ४८ हजार ६३१ मतका साथ भारी बहुमतले विजयी भएका थिए । त्यतिबेला रास्वपाका उम्मेदवार विकाश उप्रेतीले मात्र ३ हजार १७२ मत प्राप्त गरेका थिए ।

चलचित्र लेखकको रूपमा समेत परिचित ४० वर्षीय गणेश कार्की रास्वपाका संस्थापक नेता मध्ये एक हुन् । निर्वाचनअघि रिलिज भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’का लेखक कार्की हुन् । मोरङको पथरीशनिश्चरेका स्थायी बासिन्दा कार्की पछिल्लो समय काठमाडौँमा बसोबास गर्दै आए पनि चुनावका लागि आफ्नै गृहक्षेत्र फर्किएका थिए । रास्वपाभित्र उनी ‘वैचारिक र विद्रोही’ नेताका रूपमा चिनिन्छन् ।पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कार्कीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र वैचारिक स्पष्टताको वकालत गर्थे ।

२०७९ सालको निर्वाचनमा समानुपातिक सूचीमा रहेर पनि अन्तिम समयमा नाम काटिएपछि उनी प्रत्यक्षतर्फको चुनावी तयारीमा होमिएका थिए । निर्वाचन प्रचारका क्रममा पनि उनले मतदातालाई प्रश्न गरे । प्रश्नले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै मतदातालाई पनि प्रश्न गर्न सिकाए ।

पार्टी भित्र निरन्तर प्रश्न गर्दागर्दै राजनीतिमा उदाएका कार्की अब जवाफ दिने ठाउँमा पुगेका हुन् । संसद निर्वाचित भएपछि उनले आफूले गर्नुपर्ने कामलाई प्राथमिकताका साथ छुट्याएका छन् । उनको पहिलो काम सुकुम्बासी र दोहोरो स्वामित्व विवाद समाधान हो । संसद सुरु भएको १०० दिनमा संकल्प प्रस्ताव पेश गर्ने बताउँछन् ।

 

Related Tag :

Related Post