काठमाडौं,फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको प्रदर्शनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा कडाइ गरिएको छ । चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट ९गोल्डेन गेट०मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
केही मोटरसाइकलमा सवार व्यक्तिलाई त प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन् भने सोधपुछ र चेकजाँचपछि मात्रै भित्र प्रवेश गर्न दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।
उनीहरुले राष्ट्रिय झण्डा र ज्ञानेन्द्र शाहको फोटो भएको ब्यानर समेत बोकेका छन् । पूर्वराजा शाहको स्वागतका लागि भनेर भेला हुनेहरुको भिड बढ्दै गएपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।