समाचार

सीता र प्रकाशसँगै बसेको कोठा पुग्दा भक्कानिए प्रचण्ड

सीता र प्रकाशसँगै बसेको कोठा पुग्दा भक्कानिए प्रचण्ड

काठमाडौं, फागुन २ । नेपाली कम्यनिस्ट पार्टी-नेकपाका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड चुनाव प्रचारका क्रममा शनिवार चुनवाङको भेडीडाँडा(रुकुम पूर्व )पुग्दा त्यहाँ ठुलो संख्यामा भिड लागेको थियो ।  माओवादीले गरेको सशस्त्र संघर्षका सुप्रिम कमान्डर प्रचण्ड चुनवाङ पुग्दा  उनले मनलाई सम्हाल्न सकेनन् ।  भावुक हुँदै केहीबेर गीत गुनगुनाए । प्रचण्ड नै भक्कानिदा त्यहाँका कार्यकर्ता र स्थानीयसमेत स्तब्ध बनेका थिए । उनले पहिले आफू र जीवनसंगिनी सीता दाहाल बसेको कोठा अवलोकन गरे । अनि छोरा प्रकाश दाहाल र अन्य सहयोद्धा बसेका घर पनि पुगे ।

अहिले प्रचण्डसँग न पत्नी सीता छिन, न पुत्र प्रकाश नै । सोहीकारण उनी निकै भावुक पनि देखिए । ‘नेपाली क्रान्तिमा उहाँहरू(पत्नी सीता र छोरा प्रकाश)को योगदान र यो भूमि(चुनवाङ)को महत्त्व मेरो जीवनमा सधैँ अमेट छ,’ अवलोकनका क्रममा प्रचण्डले भनेका थिए ।चुनवाङ यस्तो ठाँउ हो जहाँ नेपाली राजनीतिमा युद्धरत् पाइला शान्तितर्फ मोडिएको एक साक्षी गाउँ अथवा भनौ झन्डै तीन दशकअघि सशस्त्र संघर्षरत् तत्कालीन नेकपा माओवादीको ‘चुनवाङ बैठक’ले नै शान्तिपूर्ण राजनीतिमा जाने निर्णय गरेको थियो ।
२०६२ असोजमा तत्कालीन विद्रोही माओवादीले ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा कायम गरौँ’ भन्ने नाराका साथ चुनवाङमा केन्द्रीय समितिको बैठक गरेको थियो । त्यही बैठकले माओवादीलाई तत्कालीन सात राजनीतिक दलसँग नजिक जाने बाटो कोरेको थियो । माओवादी विरासत बोक्ने पक्षले त्यो बैठक केवल एउटा पार्टीको आन्तरिक छलफल मात्रै नभएर नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रस्थानविन्दु रहेको दाबी गर्छ ।प्रचण्ड फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार पनि छन् । मतदातासँग भेटघाटका क्रममा उनी चुनवाङ पुगेका हुन् । ​

Related Tag :

Related Post