काठमाडौं,असार २६ । मंगलबार (२४ असार) मा आएको रसुवागढी बाढी वितण्डाले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काम रोकिएको छ । साथै, २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन आयोजनाबाट उत्पादन रोकिएको हो । चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
नेपाल र चीन जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत ठूलो क्षति पुर्याइ ७ जनाको ज्यान जानुका साथै १९ जना बेपत्ता छन् । इप्पानले सार्वजनिक गरेको विवरण अनुसार १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाट त्रिशूली–३ए जलविद्युत् आयोजना, २५ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको छ ।
यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–३बी हब सबस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।
देवीघाट, त्रिशूली र त्रिशूली–३ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्र समेतको सहभागितामा निर्माण भएका आयोजना हुन् । निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत् आयोजना हुन् ।
निर्माणाधीन आयोजनामा २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।