समाचार

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

काठ्माण्डौँ १६ असोज। विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो व्यापार नीति समिक्षाको सन्दर्भमा विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधि मासाहिरो हायाफुजी र ठाकुर पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको भेटका क्रममा विश्व व्यापार संगठनका प्रतिनिधी हायाफुजीले सन् २०१८ मा सम्पन्न नेपालको व्यापार नीतिको दोस्रो समिक्षा पश्चात हालसम्म व्यापार तथा व्यापार सम्वद्ध नीति, कानुन तथा समग्र प्रयासहरुको प्रारम्भिक जानकारी संकलन गरी समिक्षालाई वस्तुपरक बनाउन विभिन्न निकायसँग समन्वय गरिरहेको विषय जानकारी गराएका थिए ।

यो समिक्षाको प्रारम्भीक बैठकबाट नेपालको व्यापार सम्बद्ध नीति तथा कानुनहरुको पुनरावलोकन गरिनेछ । विश्व व्यापार संगठन स्थापना गर्ने माराकेश सम्झौताको अनुसूची ३ बमोजिम हरेक सदस्य राष्ट्रहरुको व्यापार नीतिको समिक्षा हुने गर्दछ । नेपालले हालसम्म सन् २०१२ मा पहिलो समिक्षा र सन् २०१८ मा दोस्रो समिक्षा सम्पन्न गरिसकेको छ ।

समिक्षाको क्रममा विभिन्न चरणका बैठकहरु मार्फत सूचना संकलन गरी सन् २०२५ मा विश्व व्यापार संगठनको सचिवालयले “सचिवालयको प्रतिवेदन” तथा नेपाल सरकारको तर्फबाट समेत “सरकारको प्रतिवेदन” समेत तयार गरि विश्व व्यापार संगठनको Trade Policy Review Body (TPRB) मा प्रस्तुत गरिनेछ ।    

भेटमा मन्त्री भण्डारीले नेपालले नीतिगत, कानुनी तथा रणनीतिक उपायहरु अवलम्बन गरी विश्व व्यापार संगठन मार्फत नेपालको व्यापार तथा लगानी प्रवर्द्धनमा हातेमालो गर्न अग्रसर रहेको बताएका छन् । साथै, सरकारले हाल सालै व्यापार तथा लगानीको वातावरणलाई सहज, सरल र पारदर्शी बनाउन निजी क्षेत्र मैत्री कानुन निर्माण र कार्यान्वयनमा जोड दिएको उनको भनाइ छ । नेपाल सन् २०२६ मा विकासशिल राष्ट्रमा स्तरोन्नति भएपश्चात नेपालको निर्यात व्यापारलाई अभिवृद्धि गर्न आइपर्ने चुनौतीहरुको सामना गर्न समयमै पुर्वतयारी गर्न मन्त्रालय लागि रहेको र यसमा विश्व व्यापार संगठनको सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।
 

Related Tag :

Related Post