बुटवल, कात्तिक २७। सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा पुर्याएको छ । पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो ।
बिहान पौने ८ बजे को फ्लाइटमा पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा लामिछानेलाई केही घण्टा ढिलो भए पनि भैरहवा ल्याइएको हो ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।