समाचार

रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा चलेको गगन थापाको टिप्पणी

रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा चलेको गगन थापाको टिप्पणी

काठमाडौं, असोज २। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिको प्रतिवेदनले पुष्टि गरेको बताएका छन् । पार्टी कार्यालयमा बुधबार एक कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका हुन् ।

गोर्खा मिडिया प्रा.लि.ले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरुलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखिएको बताए ।

समितिले गोर्खा मिडियाले ४/५ वटा सहकारीबाट करोडौं रकम गैरकानुनी रुपमा लगेको र यो रकम अपचलनमा तत्कालीन सञ्चालक जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको भएपनि अहिले रास्वपाका नेता कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेकोमा उनले आश्चर्य व्यक्त गरे ।

सभापतिको गलत कामलाई अपनत्व लिने प्रतिस्पर्धा रास्वपामा चलिरहेको टिप्पणी गर्दै थापाले भने  ‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन’, उनले भने, ‘कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ ।’

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए । कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताए ।

‘यो प्रतिवेदन सरकारले तत्काल कार्यान्वयमा लैजान्छ, सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दा कुनै मोलाहिजा हुनुहुन्न’, उनले भने, ‘हाम्रो नीति निर्दोषले अनावश्यक दुख पाउनुहुन्न र दोषी उम्किनुहुन्न भन्ने हो ।’
 

Related Tag :

Related Post