काठमाडौं,चैत १० । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निवास भत्काउन थालिएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भिडले आगजनी गरेपछि भग्नावशेष बनेको घर भत्काउन थालिएको हो।आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवा दम्पत्ति पनि आक्रमण परेका थिए। अहिले उपचारको लागि सिंगापुर हुँदै हङकङ पुगेका छन्।
आगलागीका कारण क्षतविक्षत भएपछि बस्न नमिल्ने भएपछि भग्नावशेष हटाउन थालिएको देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए।
उनले भने, ‘मर्मत गरेर पनि बस्न नमिल्ने भएपछि भत्काइएको हो। आगजनीबाट खण्डहर भएको थियो, केही बाँकी रहेका सामग्रीहरू पनि बिग्रन अवस्था बनेपछि अहिलेलाई भत्काइएको छ। तत्काल अर्को बनाइहाल्ने भन्ने छैन।’
उनले व्यक्तिगत घर भएकाले दुई पाँच महिनापछि निर्माणको प्रक्रिया सुरु हुनसक्ने भएपनि अहिले जानकारी नभएको बताए। उपचारको लागि हङकङ पुगेका देउवा दम्पत्ति चाँडै फर्किने बताए।
उनले थपे, ‘उहाँहरूका उताको काम अन्तिम चरणमा पुगिसकेको जानकारी पाएका छौँ। दुई चार दिनमा फर्किनुहुन्छ होला।’देउवाका प्रमुख स्वकीय भानु देउवाले पनि अहिले घर भत्काउन थालिएको भएपनि तत्काल बनाउने योजना नभएको बताए।