काठमाडौं,असोज १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशमशेर राणालाई क्यान्सर देखिएको छ । उनलाई गिजाको क्यान्सर देखिएको पारिवारिक स्रोतको भनाइ छ ।राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पतालमा उनको उपचार भइरहेको छ । सबै स्वास्थ्यपरीक्षणहरु भइसकेको र आज राति ११ बजे रिपोर्ट आउने छ । राणा राप्रपाका निर्वाचित महामन्त्री र प्रतिनिधिसभा सांसद समेत हुन् । उनी गत आमनिर्वाचनमा बाँके २ बाट २९ हजारभन्दा बढी भोट ल्याएर विजयी भएका थिए ।
डा राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या थियो । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो । चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उनी भारततर्फ लागेका हुन् । राणाको ससुराली खलक भारतमा छन् । उनकी पत्नी भारतको राज खान्दान सिन्धिया परिवारकी सदस्य हुन् । पुराना राप्रपा नेता डा। पशुपति शमशेर राणा र धवलशमशेर राणाले एउटै खलकमा विवाह गरेका थिए । धवलशमशेरका ससुराली परिवार भारतमा राजनीति नै गरिरहेका छन् । उनका साला र सालीले भर्खरै सम्पन्न आम चुनावमा भाजपाबाट महाराष्ट्रमा जितेका थिए ।
निकटस्थका अनुसार धमलशमशेरको कुनै पनि कुलत र अम्मल थिएन । उनले चुरोट र खैनी कहिल्यै सेवन गरेका छैनन् । हिजो मात्रै राप्रपाले पार्टीको संगठन विभाग प्रमुखबाट राणालाई हटाएको थियो । उपचारका लागि विदेशमा रहेको बेला ‘कारबाही’ भएको भन्दै उनी निकटस्थहरू दुखी छन् । राप्रपा संस्थापन पक्षले भने यो कुनै कारबाही नभएर नियमित हेरफेर भएको बताएको छ ।
राणाले उपचारका लागि भारत जानुअघि सामाजिक सञ्जालमा जानकारी गराएका थिए । यद्यपि, उनलाई क्यान्सर भएको चाहिँ कमै नेतालाई मात्र थाहा थियो ।