काठमाडौं,फागुन २५ । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ भने राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ ।
नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।
यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।आज पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइपछि काठमाडौं फर्किन लागेकाले उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले आफ्ना कार्यकर्ताहरुलाई आ–आफ्नै ढंगले उतारेका छन् ।
यस्तै राजावादीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ताहरुलाई ओसारेका छन् । उनीहरु राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित भएका छन् ।