काठमाडौं,चैत ४ । देशभरी खाना पकाउने ग्यास अभाव भइरहदा सल्यानमा पनि खाना पकाउने ग्यास अभाव भएको छ । पछिल्लो एक सातादेखि जिल्ला सदरमुकाम खलंगा, श्रीनगर लगायतका बजार क्षेत्रमा सहज रुपमा ग्यास पाउन छाडेको छ ।
बजारमा ग्यास आएको खबर फैलिनासाथ पसलमा भीड लाग्ने गरेको छ । तर सीमित आपूर्तिका कारण धेरैजसो उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ । कतिपयले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् ।
स्थानीयका अनुसार केही दिनयता ग्यासको खोजीमा बजार धाउँदा पनि सहज रूपमा नपाइने अवस्था बनेको छ । ग्यासमा खाना पकाउने बानी परेकाहरुले ग्यास अभावले दैनिकी कष्टकर बनेको उपभोक्ताहरुले गुनासो गरेका छन् । ग्यास बिक्रेताहरू भने आपूर्ति कम भएकाले समस्या देखिएको दाबी गर्छन् ।
सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले ग्यास अभावबारे जानकारी आएको र बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको बताए । कालोबजारी गरेको पाइए कडा कारबाही हुने उनले चेतावनी दिएका छन् ।
‘ग्यास अभावको गुनासो आइरहेको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको छ’ उनले भने, ‘कृत्रिम अभाव वा कालोबजारी गरेको पाइए कडा कारबाही हुन्छ ।’