सुनसरी,साउन १६ । धरानमा अहिले चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन । यसअघि साउन ११ गते धरानमा क्रियाशील दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र दिएका थिए ।
बोर्ड सञ्चालनमा समस्या भएको भन्दै अध्यक्ष मेयर हर्क साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा लाग्ने शुल्क र खानेपानीको महसुलमा चर्को वृद्धि गरेपछि विरोध भएको हो । मेयरको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको धरानमा क्रियाशील दलहरूको गुनासो छ । वृद्धि भएको रकम साउनदेखि लागू हुने बताइएको छ ।
धरानमा क्रियाशील राजनीतिक दलहरूले निकालेको विज्ञप्तिमा १७ गते विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया गर्ने, १८ गते सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना दिनेजस्ता संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।