समाचार

अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा पाण्डेको शव फ्यूनरल होममा

अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा  पाण्डेको  शव फ्यूनरल होममा

काठमाडौं,भदौ १८ । अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा मुना पाण्डेको एक हप्ता भन्दा बढि भइसक्दा पनि अहिलेसम्म  दाहसंस्कार हुन सकेको छैन । गत मंगलबार ह्यूस्टनस्थित आफ्नै अपार्टमेन्टभित्र पाण्डेको शव फेला परेको थियो ।

भारतीय मुलका बबी सिंह साह नामक व्यक्तिले मुनालाई गोली हानेर मारेका थिए । हत्याको वास्तविक कारण खुलिसकेको छैन । प्रहरीले लुटपाटका लागि हत्या गरिएको प्रारम्भिकरुपमा बताए पनि भित्रि कारण अरु पनि हुन सक्ने अनुमान गरिएको छ ।आज स्थानीय समय अनुसार ९ बजे मुद्दाको सुनवाइ हुँदैछ । उक्त समयमा नेपाली समूदाय अदालतमा भेला भएर शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका छन् । ह्यूस्टन नेपाल समाजले मुनाको न्यायका लागि अदालतमा आउन सबै नेपालीहरुलाई अपिल गरेको छ । अदालत बाहिर प्ले कार्ड प्रदर्शन गर्ने तयारी पनि गरिएको छ ।

सिंहलाई आज अमेरिकी अदालतमा पेश गरिँदैछ । यसअघि उनलाई अवैध हातहतियार बोकेको अभियोगमा अदालतमा पहिलोपटक उपस्थित गराइएको थियो । आज भने हत्या अभियोगमा उनलाई उपस्थित गराइन लागेको हो । यो अभियोग प्रमाणित भएको खण्डमा साह आजीवन कारावासमा जान सक्नेछन् ।

मुनाको शव भने अहिले फ्यूनरल होममा रहेको छ । शव नेपाल पठाउन सकिने अवस्था नरहेपछि नेपाली समुदायको समूदायमा फ्यूनरल होममा राखिएको हो । नेपालमा रहेकी मुनाकी आमा अनिता पाण्डे छोरीलाई अन्तिम श्रद्धान्जली दिन अमेरिका जाने प्रक्रियामा रहेकी छन् । उनलाई इमर्जेन्सी भिसा दिन काठमाडौंस्थित अमेरिकी दूतावासमा आवेदन गरिएको छ । एक–दुई दिनभित्र भिसा प्राप्त हुने अपेक्षा छ । टेक्ससको सिनेटर अफिसबाट कन्सुलर अफिसमा फोन गरेर भिसाका लागि अनुरोध भएको थियो ।

मुनाकी एकल आमा अनिता पाण्डेलाई आर्थिक सहायताका लागि नेपाली समूदायले अभियान चलाइरहेका छन् । गो फन्डमीबाट गरिएको आह्वानमा अहिलेसम्म ३४ हजार डलर संकलन भएको छ । यसैबीच मुनाका प्रेमी भनिएका अमेरिकी युवा पनि प्रहरीका सम्पर्कमा आएका छन् । 

Related Tag :

Related Post