काठमाडौं,साउन ३२ । भक्तपुरको गठ्ठाघरमा हिजो भएको घटनामा मृतकलाई आफ्नो बहिनी हो भन्ने व्यक्तिलाई प्रहरीले मुद्दा चलाउने भएको छ । प्रहरीका अनुसार झुटो कुरा गरेकाले उनीमाथि म्याद थपेर अनुसन्धान हुने भएको हो । प्रहरीले दोलखाका शम्भु नेपालीलाई पक्राउ गरेको छ। विष्टका अनुसार शम्भुले आफूलाई खलासी गर्ने बताएका छन् । परिचय खुल्ने कागजात भने अहिले सम्म भेटिएको छैन । उनले बिहीबार अपराह्न ती व्यक्तिले घटनास्थल पुगेर मृतक आफ्नी बहिनी भएको बताएका थिए।
ती व्यक्तिले भनेकै आधारमा प्रहरीले मृतकको नाम सार्वजनिक गरेको थियो । तर मृतक भनिएकी व्यक्तिले आफू जीवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। दुर्घटनामा शव क्षतविक्षत भएका कारण सिसिटिभी फुटेज हेरेपछि मात्र मृतक पुरुष भएको पत्ता लागेको थियो । स्कुटीमा बिल बुक पनि पुरुष व्यक्तिकै थियो ।ट्राफिक चेकिङ क्रस गरेपछि दुर्घटना भएको देखिन्छ। चेकिङ भइरहेको भन्दा करिब ३०र३५ मिटर अगाडि बढेपछि ट्रकले स्कुटरलाई किचेको देखिएको प्रहरीले बताएको छ ।
यस घटनामा प्रहरी विवादमा आएपछि यतिबेला घटना हुँदाको सीसीटीभी फुटेज बाहिरिएको छ । जहाँ कुदिरहेको अवस्थामा ट्रकले स्कुटरलाई किचेको देखिएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लागेको थियो । दुर्घटनामा कपन बस्दै आएका ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको पछि खुलेको थियो ।
सुरुमा प्रहरीले नै एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको बताएको थियो । पछि मृत्यु हुने महिलाको पहिचान खुलेको उनका दाजुले आएर सनाखत गरेकोसम्म प्रहरीले बताएको थियो । तर मृत भनिएकी महिला आफैं प्रहरीको सम्पर्कमा आएपछि घटनाले अर्को मोड लियो ।त्यसपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दा महिला नभई पुरुषको मृत्यु भएको खुल्यो । घटनास्थलबाट बरामद भएका कागजातका आधारमा पनि पुरुष रहेको खुल्यो । ती पुरुषका आफन्त आएर सनाखत गरेपछि दुर्घटनामा मृत्यु हुने महिला नभई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइराला रहेको खुलेको हो । प्रहरीले बताए अनुसार मृतक व्यक्ति महिला भएको भनेर धेरै मिडियामा समेत आइसकेको थियो ।मृतक भनिएकी महिला प्रहरीको सम्र्पक गरेपछि मृतक महिला नभएको खुलेको थियो । यसमा प्रत्यक्षदर्शीका आधारमा सुचना प्रवाह हुँदा गलत सुचना गएको प्रहरी बताउछ ।
प्रहरीका अनुसार महिला/पुरुष कसको शव हो भनेर चिन्न सक्ने अवस्थामा थिएन । शरीर माथिबाटै ट्रक गुडेकाले शरीरका सम्पूर्ण भाग क्षतविक्षत अवस्थामा थिए सीसी टिभी फुटेजको समय हेर्दा दिउँसो १ बजेर ५९ मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीयले गरेको प्रदर्शन र तोडफोडका कारण स्थिति तनावग्रस्त भएकाले प्रहरीले साढे दुई घण्टासम्म पनि शव उठाउन सकेको थिएन । स्कुटरलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं। २ मा राखिएको छ ।
दुर्घटनापछिको प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबल्दार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए । प्रदर्शनकारीले ट्राफिक आइल्यान्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्याएका भक्तपुर प्रहरीले जनाएको छ ।