समाचार

महामन्त्रीमा विजयीपछि राणाको प्रतिक्रिया: निर्वाचनमा कसैको हार–जित हुँदैन, सबैलाई समेटेर अघि बढ्छौँ

महामन्त्रीमा विजयीपछि राणाको प्रतिक्रिया: निर्वाचनमा कसैको हार–जित हुँदैन, सबैलाई समेटेर अघि बढ्छौँ

काठमाडौं,असोज २६ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी उदयशम्शेर राणाले अब पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

महाधिवेशन सफल बनाउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, शुभचिन्तक तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै राणाले महाधिवेशन निर्वाचनमा नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई नयाँ नीति तथा कार्यक्रम तय गरेर पार्टीलाई अघि बढाउने अवसरसमेत भएको बताए।

उनले महाधिवेशनको प्रतिस्पर्धालाई आन्तरिक तथा मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा लिनुपर्ने उल्लेख गर्दै निर्वाचित हुने साथीहरूले बढी जिम्मेवारी पाएको भए पनि यसलाई कसैको जित र कसैको हारका रूपमा बुझ्न नहुने बताए।

निर्वाचनमा कम मत ल्याएका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो।

राणाले विशेष महाधिवेशनले दिएको रूपान्तरणको म्यान्डेटअनुसार जनतामाझ पुग्ने नीति तथा कार्यक्रम ल्याएर कांग्रेसलाई अघि बढाइने बताए।

साथै, १४औँ महाधिवेशनमा क्रियाशील सदस्य रहेका अधिकांश सदस्यले १५औँ महाधिवेशनमा सहभागिता जनाएको उल्लेख गर्दै महाधिवेशनमा सहभागी हुन नसकेका नेताहरूलाई समेत नयाँ नेतृत्वले समेट्ने प्रयास गर्ने बताए।

महामन्त्रीमा उदयशम्शेरसँगै प्रदीप पौडेल र डिला संग्रौला निर्वाचित भएका छन् ।

 

 

Related Tag :

Related Post