समाचार

आर्थिक वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ५. १ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

आर्थिक वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ५. १ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं,असोज १६ । विश्व बैंकले चालु आर्थिक वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ । अघिल्लो आव सन् २०२४० मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५. १ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादन वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा उल्लेख छ ।

नेपालको अर्थतन्त्र आगामी आव २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।

प्रतिवेदनमा अर्थतन्त्रमा रहेका जोखिम समेत पहिचान गरिएको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिम सहित निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पूँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक माग कम गर्न सक्ने जस्ता जोखिम छन् ।

प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्य प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तार सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपलाई प्राथमिकता साथ उल्लेख गरेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले वृद्धिको गति कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । उनले भनेका छन्,  नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्स मार्फत धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्षलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्र निर्माण नेपालको भविष्यका लागि महत्त्वपूर्ण छ,’।

 

Related Tag :

Related Post