उदयपुर,भदौ २१ । बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा भेटिएका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेको थिए । कटारी नगरपालिका-१० स्थित सोरुङ छबीसेमा आमा(छोरा हत्या घटनाको २४ घण्टा बितिसक्दा पनि अहिलेसम्म परिवारको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छैन । प्रहरीले अनुसन्धन सुरू गरेको जनाएको छ ।
सर्जमिन मुचुल्कापछि दुवैजनाको शव पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको छ । हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए । श्रीमानले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालयनजिकै पसल चलाएर बस्थिन् । बिहीबार बिहान आमा(छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।