समाचार

भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला, अन्यलाई पनि कलेज छाड्न निर्देशन

भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला, अन्यलाई पनि कलेज छाड्न निर्देशन

काठमाडौं,फागुन ५। भारत ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत भेटिएपछि सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिइएको छ । भुवनेश्वरस्थित उक्त विश्वविद्यालयको होस्टलमा आइतबार साँझ बीटेक तेस्रो वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि त्यहाँ तनाव उत्पन्न भएको हो ।उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । रिपब्लिकका अनुसार उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, उनलाई पूर्वप्रेमी, एक मेकानिकल इन्जिनियरिङ विद्यार्थीले दुर्व्यवहार गरेको आरोपसमेत लागेको छ । उक्त घटनापछि विश्वविद्यालयले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न निर्देशन दिएको हो ।

विद्यार्थीको मृत्युपछि, क्याम्पसका नेपाली विद्यार्थीहरूले अनुसन्धानमा पारदर्शिताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गरे र मृतकको पूर्वप्रेमीलाई पक्राउ गर्न आह्वान समेत गरेका छन् ।

तनाव थप बढ्दै जाने देखिएपछि विश्वविद्यालयले नेपालका सबै विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो । विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ, ‘बीटेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो होस्टेलमा आत्महत्या गरेकी थिइन् । उक्त विद्यार्थीको अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका छ । त्यस्तै, कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’

 

Related Tag :

Related Post