समाचार

फर्किन खोज्दा दुर्घटना भएको जस्तो देखिन्छ: मन्त्री बद्रीप्रसाद पाण्डे

फर्किन खोज्दा दुर्घटना भएको जस्तो देखिन्छ: मन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौं,साउन २४ । बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको थियो । यो हेलिकप्टर रसुवाको स्याफ्रुबेसी उडेको थियो । जसको उडान दुरी काठमाडौंबाट १५ देखि २० मिनेट हाराहारी मात्र हो । काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको झन्डै ४५ मिनेटपछि मात्र काठमाडौंबाट प्रभु एयरलाइन्सको अर्को हेलिकप्टर खोजीका लागि उडेको थियो । यस्तै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले   दुर्घटना भएको स्थानको  अवलोकन गरेका छन् ।उनले दुर्घटनास्थलको अवस्थाबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताएका छन् । ।

‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भनेका छन् । झोर भन्ने स्थानभन्दा माथि भञ्ज्याङ जस्तो ठाउँ रहेको र त्यहीँबाट हेलिकप्टर फर्किने बेला दुर्घटना भएको जस्तो देखिने उनको भनाइ छ । उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ । त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ ।

मन्त्री पाण्डेका अनुसार उक्त हेलिकोप्टर चिनियाँ नागरिकहरुलाई स्याफ्रुबेंसी छोड्ने र फर्किने बेला अमेरिकी नागरिकहरुलाई ल्याउने योजनाका साथ काठमाडौंबाट उडेको थियो । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम भइरहेको छ ।  शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।
काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।

 

 

 

 

 

Related Tag :

Related Post