काठमाडौं,चैत ६ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने उनको तर्क थियो ।
‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिए । साथै क्षमायाचना पनि गरे ।
उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’