काठमाडौं,भदौ २२ । तत्काल कर्मचारीको तलव वृद्धि नहुने भएको छ । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।
उनले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै हालको अर्थतन्त्रको अवस्थाले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने उनको भनाइ थियो । । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
अहिलेको कठिनाइहरुको सामाना गरेर अघि बढ्नुपर्ने भएकाले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने उनको भनाइ छ । उनले भनेका छन्,
‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरु छन्, तिनीहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमीक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ । देश जति आर्थिक रुपमा विपन्न हुन्छ, सामाजिक रुपमँ विश्रृंखलित हुँदै जान्छ, राजनीतिक रुपमा अझ भाँडभैलो हुँदै जान्छ त्यसबेला हामी सबै पछि पर्छौं, सबैको स्थिति नराम्रो हुन्छ । अहिले थुप्रो हल्ला चलेको छ, नियोजित र प्रायोजित हल्लाहरु थुप्रै चलाउने गरिएको छ । सरकारको बिरोध केही नगरीकनको बहादुरी भएको छ । सरकारको बिरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो । हाम्रो संस्कृति, सभ्यता, हाम्रो सामाजिक मूल्यहरु, हाम्रो समाजको कुराहरुलाई कमजोर पार्दै लगिएको छ ।’